काठमाडौं — शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको हालैको निर्णयप्रति असन्तुष्टि जनाउँदै वैदेशिक रोजगारीमा रहेका एक नेपालीले सम्बन्धित निकायलाई खुल्ला पत्रमार्फत ध्यानाकर्षण गराएका छन्।
दक्षिण कोरियामा रहेका पासाङ शेर्पाले नेपाल सरकार तथा नेपाल धितोपत्र बोर्ड लाई सम्बोधन गर्दै उक्त निर्णयले नेपालका पूँजी बजारमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पार्ने बताएका छन्।
उनले अन्तर्राष्ट्रिय परिस्थिति, विशेषतः इरान–अमेरिका द्वन्द्व का कारण उत्पन्न इन्धन आपूर्ति समस्यालाई समाधान गर्न सरकारले लिएको निर्णयप्रति सम्मान जनाउँदै पनि यसको प्रभावबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।
खुल्ला पत्रमा उल्लेख गरिएअनुसार, विश्वका अधिकांश देशहरूमा शनिबार र आइतबार बिदा हुने हुँदा विदेशमा रहेका नेपाली तथा गैरआवासीय नेपाली (NRN) हरूले सोही दिन नेपालको शेयर बजार नियाल्ने र लगानी गर्ने गरेका छन्। तर नेपालमै शनिबार र आइतबार दुबै दिन बिदा हुँदा उनीहरू उक्त अवसरबाट वञ्चित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ।
यसले नेपालको पूँजी बजार विस्तार, वैदेशिक लगानी आकर्षण तथा आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै शेर्पाले बिदा व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनले शनिबार–आइतबारको सट्टा शुक्रबार–शनिबार बिदा कायम गर्ने वा कम्तीमा आइतबार एक दिन कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
साथै, वैदेशिक क्षेत्रमा रहेका नेपाली तथा एनआरएनए जस्ता संस्थाहरूले पनि यस विषयमा ध्यान दिनुपर्ने आवश्यकता उनले औंल्याएका छन्।