कैलालीमा नेकपा (माओवादी) का नेता यमराज खत्रीले दिए राजीनामा, संगठनभित्रको कार्यशैलीप्रति असन्तुष्टि
कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निकट युवा नेता यमराज खत्रीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामो समयदेखि पार्टी तथा संगठनमा सक्रिय रहँदै आएका खत्रीले जिल्ला इन्चार्जलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
खत्रीले दिएको राजीनामा पत्रमा आफू लामो समयदेखि पार्टी तथा संगठनमा आवद्ध रही विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। उनले संगठनको केन्द्रीय सदस्य तथा जिल्ला सदस्यको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए। तर पछिल्लो समय संगठनभित्र देखिएको कार्यशैली, नीति तथा निर्णय प्रक्रियामा आएको विचलनका कारण आफूलाई त्यहाँ रहिरहन उपयुक्त नलागेको उनले बताएका छन्।
राजीनामा पत्रमा उनले संगठनभित्र सिद्धान्त र व्यवहारबीचको दूरी बढ्दै गएको उल्लेख गर्दै त्यसले आफूलाई गम्भीर रूपमा निराश बनाएको बताएका छन्। उनले राजनीति केवल पद, स्वार्थ र व्यक्तिगत महत्वाकांक्षाको माध्यम बन्ने दिशातर्फ उन्मुख देखिएको टिप्पणी पनि गरेका छन्।
“राजनीति पद र स्वार्थको खेल बन्न थालेपछि विचार र आत्मसम्मान जोगाउन कठिन हुन्छ,” खत्रीले पत्रमा उल्लेख गरेका छन्। उनले आफ्नो विचार र आत्मसम्मानप्रति इमानदार रहनका लागि यस्तो निर्णय लिनुपरेको बताएका छन्।
उनका अनुसार आजको मितिदेखि लागू हुने गरी आफू पार्टी तथा संगठनको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्। साथै उनले अब स्वतन्त्र रूपमा आफ्नो वैचारिक तथा सामाजिक यात्रालाई अघि बढाउने संकेत गरेका छन्।
कैलाली जिल्लामा लामो समयदेखि युवा तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका खत्रीको राजीनामालाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उनी युवामाझ सक्रिय तथा स्पष्ट धारणा राख्ने नेताका रूपमा परिचित थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार संगठनभित्र देखिने आन्तरिक असन्तुष्टि र कार्यशैलीप्रतिको असहमति नै उनको राजीनामाको प्रमुख कारण हुनसक्ने अनुमान गरिएको छ। यद्यपि पार्टीको जिल्ला नेतृत्वले यस विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन।
खत्रीको राजीनामापछि कैलालीको स्थानीय राजनीतिक वृत्तमा विभिन्न चर्चा सुरु भएका छन्। केहीले यसलाई संगठनभित्रको असन्तुष्टिको संकेतका रूपमा हेरेका छन् भने केहीले व्यक्तिगत निर्णयका रूपमा टिप्पणी गरेका छन्।