काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)द्वारा आह्वान गरिएको नेपाल बन्द कार्यक्रमलाई समर्थन गर्ने घोषणा गरेको छ।
युनियनले केन्द्रीय समितिको तर्फबाट जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान अवस्थामा सुशासन कायम गर्न सरकार असफल भएको आरोप लगाउँदै आम जनता तथा विद्यार्थीहरूको हक–अधिकारमाथि निरन्तर हस्तक्षेप भइरहेको जनाएको छ। कथित निर्वाचन प्रक्रियालाई सशक्त रूपमा बहिष्कार गर्नुपर्ने आवश्यकता औंल्याउँदै दलाल पुँजीवादी व्यवस्थाको अन्त्य गरी जनताको राज्यसत्ता स्थापना गर्न संघर्ष अपरिहार्य भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा शिक्षा क्षेत्रको बढ्दो निजीकरण र व्यावसायिक शिक्षानितिका कारण विद्यार्थीहरू शोषणमा परेको बताइएको छ। राज्यले प्रत्येक विद्यार्थीलाई निःशुल्क तथा वैज्ञानिक शिक्षाको ग्यारेन्टी गर्नुपर्ने माग युनियनले अघि सारेको छ।
युनियनले २०८२ माघ २५ गते आयोजना हुने नेपाल बन्दलाई सफल बनाउन सम्पूर्ण विद्यार्थी, विद्यार्थी संगठन तथा आम जनसमुदायलाई सक्रिय रूपमा सहभागी हुन अपिल गरेको छ। साथै, वर्तमान शिक्षा नीतिविरुद्ध सशक्त आन्दोलन अगाडि बढाइने चेतावनीसमेत दिएको छ।
प्रेस विज्ञप्तिमा केन्द्रीय समितिका तर्फबाट क्रान्तिकारी अभिवादन व्यक्त गरिएको छ।