नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्काको सिफारिस गर्ने निर्णयको एमालेको भ्रातृ संगठन युवा संघले आपत्ति जनाएको छ ।
संघका अध्यक्ष क्षितिज थेबेले एक विज्ञप्ति जारी गर्दै ओलीको राहदानी रोक्का गर्ने निर्णयमाथि आपत्ति जनाएका हुन् ।
उनले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रारम्भिक चरणमै शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको सिफारिस गरेको विज्ञप्तिमार्फत बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली लगायतको राहदानी रोक्का गर्ने निर्णय गरेकोप्रति हाम्रो संगठन गम्भीर चासो र आपत्ति प्रकट गर्दछ, गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले बिना कुनै आधार र प्रमाण जाँचबुझको प्रारम्भिक चरणमै विशुद्ध शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको तथ्य छर्लङ्ग छ ।’
कमरेड महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने समाचार आएका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका प्रतिशोधयुक्त क्रियाकलापमा सरकारलाई अग्रसर नहुन हामी जोडदार माग गर्दछौं र यस प्रकारका गतिविधि वर्तमान सरकारलाई प्रत्युपादक हुने कुरामा समेत सचेत गराउन चाहन्छौं ।’