April 8, 2026

'ताइन तुइँको वलिको कूटनीति’ :  प्रधानमन्त्री ओलीको चीन भ्रमण खल्लो '

भदौ १५, २०८२

चीनका राष्ट्रपति सी चिन फिङको निमन्त्रणमा सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग त्यसतर्फ गएका ओलीको यो पछिल्लो भ्रमण विवादमा परेको छ । नेपालको भूमि लिपुलेक हुँदै सीमा व्यापार गर्ने भनी चीनले भदौ ३ गते भारतसँग सम्झौता गरेको थियो ।

विज्ञापन
No data was found

नेपालमा त्यसको आलोचना भइरहेको वेला उनी चीन भ्रमणमा छन् । लिपुलेकबारे प्रधानमन्त्री ओलीलाई त्यहाँका राष्ट्रपति सी चिनफिङसँग कुराकानी गर्न धेरैले सुझाए पनि उनको भ्रमणको एजेण्डामा लिपुलेक छैन ।

विज्ञापन
No data was found

लिपुलेकबारे आलोचना भइरहेका वेला प्रधानमन्त्री ओली जापानविरुद्ध चीनको ८० औँ विजयोत्सव समारोहमा सहभागी हुने भएपछि कूटनीतिक क्षेत्रमा त्यसको आलोचना पनि सुरु भएको हो ।

विज्ञापन
No data was found

यो आलोचना त्यतिवेला सुरु भयो, जतिवेला परराष्ट्र मन्त्रालयले नै आफ्नो विज्ञप्तिमा जापानी आक्रमणविरुद्ध चिनियाँ जनयुद्ध र विश्व फासिस्ट विरोधी युद्ध’ विजयको वार्षिकोत्सवमा प्रधानमन्त्री ओली सहभागी हुने भन्यो । त्यसअघि यो कार्यक्रमबारे कतै चर्चा थिएन ।

कूटनीति क्षेत्रमा प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । नेपाल र जपानबिच जनुको खालको कूटनीतिक सम्बन्ध छ, त्यस आधारमा उनी सो कार्यक्रममा सहभागी हुन नहुने धेरैको भनाइ छ । विदेश मामिला जानकार एवं पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा दुई देशको द्वन्द्वमा नेपाल मिसिन नहुने बताउँछन् ।

‘कसको सल्लाहमा यस्तो हतार हतारमा निर्णय गरेर त्यो विजय उत्सवमा सहभागी हुन लागेको मलाई थाहा छैन,’ उनले भने, ‘जसले यो सल्लाह दिएका छन् वा जे कारणले पनि त्यो कार्यक्रममा सहभागी भएका छन्, त्यो गलत हो ।’

नेपाल–जपानबिच कुटनीतिक सम्बन्ध मात्र होइन, ठुलो आर्थिक सम्बन्ध पनि छ । र थुप्रै विद्यार्थी अध्ययनका लागि जपानमा छन् । ठुलो संख्यामा नेपालीहरू रोजगारीका लागि जापान जाने गरेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीले यो कुरालाई ख्याल नगर्नु भनेको कूटनीतिक असफलता भएको थापा बताउँछन् ।

पूर्व राजदूत विजयकान्त कर्ण पनि प्रधानमन्त्री ओलीले गलत काम गरेको तर्क गर्छन् । ‘कुनै देशविरुद्धमा परेड प्रदर्शन भइरहेको छ भने त्यसमा अरू देश सहभागी नै हुुनु हुँदैन,’ कर्ण भन्छन्, ‘चीनले जपानमाथि प्राप्त गरेको विजयको उपलक्ष्यमा कार्यक्रम आयोजना गरेको छ, त्यसमा नेपालले सहभागिता जनाउनुको कुनै अर्थ छैन ।’

कर्ण प्रश्न गर्छन्, ‘चीनले भोलिका दिन अमेरिका, भारतविरुद्धमा यस्ता कार्यक्रम गरे के त्यसमा नेपाल सहभागी हुने त ?’ त्यसकारण प्रधानमन्त्री ओलीको यो निकै कच्चा र अपरिपक्क कूटनीति भएको उनले टिप्पणी गरे । ‘शिखर सम्मेलनमा जानु राम्रो हो, दुईपक्षीय सम्बन्धका लागि भएको भ्रमणमा जानु राम्रो हो, तर कुनै दुई देशबिच भएको युद्धको सम्झनामा गरेको कार्यक्रममा जानु गलत हो,’ कर्ण थप टिप्पणी गर्छन्, ‘नेपाल असंलग्न परराष्ट्र नीति अख्तियार गरेको देश हो, यो कुरा प्रधानमन्त्री ओलीले बिर्सिनुभयो ।’

के हो जपान–चीन दुश्मनी ?

सन् १९३१ मा जापानले चीनको मञ्चुरियामा आक्रमण गरेको थियो । जापानको नियन्त्रणमा रहेको रेलवे लाइन नजिकै बम बिस्फोट भएपछि यो आक्रमण सुरु भएको थियो । जापानी सैनिकहरूको प्रतिस्पर्धा चिनियाँ सैनिकले गर्न सकेनन् र जापानले धेरै चिनियाँ इलाकाहरू आफ्नो कब्जामा लियो । जापानले त्यतिवेला चीनमाथि आफ्नो पकड मजबुत बनाएको थियो, जतिवेला चिनियाँ कम्युनिस्ट र राष्ट्रवादीहरू अन्तरसंघर्षमा थिए । चीनका राष्ट्रवादी नेता च्याङ काई सेकले नान्जिङलाई राष्ट्रिय राजधानी घोषणा गरेका थिए ।

यसैको परिणामस्वरुप सन् १९३७ मा एउटा व्यापक युद्ध सुरु भयो र लाखौँ चिनियाँहरूको मृत्यु भयो । साथै सन् १९४५ मा दोस्रो विश्वयुद्धको समाप्तीसँगै यसको अन्त्य भयो । दोस्रो विश्वयुद्धमा पूर्वीएसिया लडाइँको मैदान बनेको थियो । यस इलाकामा राष्ट्रवादलाई केन्द्रमा ल्याउन दोस्रो विश्वयुद्धको भूमिका सबैभन्दा बढी रह्यो ।

चीनले आफ्नो अपमानजनक इतिहासलाई सम्झाउन चीनले प्रत्येक वर्ष त्यसको सम्झानामा कार्यक्रम गर्दै आएको छ । आफ्नो मुलुकले कति धेरै अपमान सहेको थियो भनेर नयाँ पिँढीलाई बुझाउँदै आएको छ । सन् १८३९ को पहिलो अफिम युद्धदेखि दोस्रो विश्वयुद्धसम्म कस्तो अपराध सहनुपरेको थियो भनेर चीनले आफ्ना नागरिकहरूलाई पटक–पटक सम्झाइरहेको हुन्छ ।

यसकै सम्झानामा चीनले कार्यक्रम गर्दै आएको छ । चिनियाँ जनताका लागि चीनको यो कर्तव्य पनि हो, यसमा नेपालले चासो न लिएको भए नै बेस हुने पूर्वपरराष्ट्रमन्त्री थापा बताउँछन् । नेपाल–चीन मामिलाका जानकार प्रध्यापक पुष्पराज अधिकारी पनि प्रधानमन्त्री ओलीले कूटनीतिक सन्तुलन कायम राख्न नसकेका बताउँछन् ।

‘हुन त जपानविरुद्ध नेपालले विश्वयुद्ध नै लडेको हो, त्यो हिसाबले गएको राम्रो देखिन्छ तर यो ८० वर्षपछि जपान–नेपालबिच जुन किसिमको सम्बन्ध कायम भएको छ, त्यसको आधारमा नजाँदा नै कूटनीतिक हिसाबले राम्रो मानिन्थ्यो,’ प्राध्यापक अधिकारीको बुझाइ छ ।

चिनियाँ सहायक विदेशमन्त्री होङ लेइले भदौ १२ गते बेइजिङमा एक पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो विश्वयुद्धमा जापानको औपचारिक आत्मसमर्पणको सम्झनामा परेड कार्यक्रम आयोजना हुन लागेको बताए ।

आयोजना हुने परेडमा सहभागी हुने अन्य व्यक्तिमध्ये वेलारुसका राष्ट्रपति अलेक्जान्दर लुकासेन्को, इरानका राष्ट्रपति मासुद पेझास्कियन, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तो र दक्षिण कोरियाका राष्ट्रिय सभाका सभामुख वु वोन–सिक हुने जानकारी दिएका थिए ।

यो कार्यक्रमको उद्देश्य इतिहासलाई सम्झनु, सहिदहरूलाई सम्मान गर्नु, शान्तिलाई कदर गर्नु र उज्ज्वल भविष्यतर्फ अघि बढ्नु रहेको बताउँदै उनले इतिहासलाई इमानदारी र सत्यतापूर्वक सामना गर्ने, इतिहासबाट सिक्ने र साँच्चिकै शान्तिपूर्ण विकासमा समर्पित हुने देशहरूलाई यी कार्यक्रमबारे कुनै शंका गर्न नहुने बताए ।

को हुँदै छन् सहभागी ?

त्यो कार्यक्रममा २६ देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रममा नेपालका प्रधानमन्त्री ओलीसहित रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, कोरियाली वर्कर्स पार्टीका महासचिव तथा उत्तर कोरियाली जनगणतन्त्र कोरियाका राज्य मामिलाका अध्यक्ष किम जोङ उन, कम्बोडियाका राजा नोरोडोम सिहामोनी, भियतनामका राष्ट्रपति लुओङ कुओङ, लाओस पिपुल्स रिभोलुसनरी पार्टीका केन्द्रीय समितिका महासचिव थोङलुन सिसोलिथ, इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, मंगोलियाका राष्ट्रपति उखनागिन खुरेलसुख सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

त्यस्तै, पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभ, उज्बेकिस्तानका राष्ट्रपति शाव्कत मिर्जियोयेभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, किर्गिस्तानका राष्ट्रपति सदिर झापारोभ, तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ, वेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुक्सेन्को, अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ सहभागी हुने बताइएको छ ।

त्यसैगरी आर्मेनियाका राष्ट्रपति वाहागन खाचातुर्यान, इरानका राष्ट्रपति मसूद पेजेश्कियान, कंगो गणराज्यका राष्ट्रपति डेनिस सासौ, जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनंगाग्वा, सर्बियाका राष्ट्रपति एलेक्सान्डर भुसिक, स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको, क्युबाको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव र गणतन्त्रका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेज र म्यानमारका कार्यवाहक राष्ट्रपति मिन आङ ह्लाइङ सहभागी हुनेछन् ।

नेपाल–जपान सम्बन्ध

नेपाल र जपानबिच कूटनीति सम्बन्ध स्थापना भएको भदौ १६ गते ६९ वर्ष पूरा गरी ७० वर्षमा प्रवेश गर्दैै छ । नेपाल र जपानले आफ्नो कूटनीतिक सम्बन्धको ६९ औं वर्षगाँठ मनाइरहेको वेला जपानलाई हराएको सम्झनमा चीनले विजयत्सव मनाइरहेको कार्यक्रममा नेपालका प्रधानमन्त्री ओली सहभागी हुँदै छन् ।

नेपाल–जपानबिच १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएका राष्ट्रमध्ये जापान अग्रणी स्थानमा छ । सन् १८९९ मा जापानी भिक्षु इकाइ कावागुची तिब्बत जाने क्रममा पटक–पटक नेपाल आएका देखिन्छ । नेपाल भ्रमण गर्ने पहिलो जापानीका रूपमा नेपाल सरकारले २०६० सालमा भिक्षु कावागुचीको तस्बिरअंकित हुलाक टिकट नै जारी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर
1

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

2

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

3

सुनचाँदीको मूल्यमा केही गिरावट

4

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

5

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

6

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

7

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

No data was found
यो पनि पढ्नुहोस

नेपाल डे परेडसम्बन्धी ऐतिहासिक सहमति: नेपाली समुदायमा एकताको नयाँ अध्याय सुरु

कांग्रेस नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

सुनचाँदीको मूल्यमा केही गिरावट

रविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, आइतबार सुनुवाइ हुने

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

गायक सन्तेन्जी शेर्पाको सैलुङ्ग डाँडा सय थुम्का नयाँ गीत सार्वजनिक 

शेर्पा बिद्यार्थी संघ ओखलढुंगाले खुला मिनि म्याराथन प्रतियोगिता गर्ने

इन्जिनियर किरण केसी उज्यालो नेपाल पार्टीको प्रमुख कार्यकारी अधिकृत नियुक्त